माधव नेपाल र भीम रावलका स्पष्टीकरण कारबाही भागीदार छन् : ओली

फागुन २८ पछिका निर्णय फिर्ता नहुने ओलीको अडान

नेकपा (एमाले) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलको स्पष्टीकरण कारबाहीको भागीदार रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

स्पष्टीकरण सोधिएका चार नेतामध्ये दुईजनाको स्पष्टीकरण आएको र त्यो नकारात्मक र कारबाहीको भागीदार भएको ओलीले बताएका हुन् । ‘दुई जनाको स्पष्टीकरण आएको छ । त्यो स्पष्टीकरण अत्यन्त नकारात्मक छ, त्यो कारबाहीको भागिदार छ । बाँकी दुई जनाको त्यो कोणबाट नभइकन अत्यन्तै सकारात्मक कोणबाट आउने अपेक्षा गर्दछु,’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै भट्टराईले भने । साथै उनले अन्य दुई नेताको स्पष्टीकरण आउन बाँकी रहेकाले त्यो सकारात्मक ढंगले आउने र त्यसले पार्टीलाई एकताबद्ध बनाउने विश्वाससमेत व्यक्त गरेका छन् ।

बैठकमा ओलीले फागुन २८ पछिका निर्णयहरुमा ‘व्याक’ हुन नसक्ने बताएका छन् । त्यस्तै ओलीले संसदीय दलको विधानमा भएको परिवर्तन अहिलेलाई अनुमोदन भई सकेको हाललाई त्यसमा संशोधन नहुने बताएको भट्टराईले जानकारी दिए । “फागुन २८ गतेको केन्द्रीय समितिका निर्णयहरु र त्यसपछिका चैत ५ र ७ गतेका संसदीय दलको बैठकका निर्णयबाट व्याक्क हुन सकिँदैन । बैठकमा केही साथीहरु अनुपस्थिति हुनुभयो । तर बैठकले विधिसम्मत तरिकाले गरिएको निर्णय फिर्ता हुन सकिँदैन पारित गरेको दलको विधान केन्द्रीय समितिले अनुमोदन गरिसकेको छ । यो विधान हाम्रो पार्टी संसदीय दलको विधान हो ।आवश्यक पर्‍यो भने समयक्रममा संशोधन गर्न सकिन्छ, अपरिवर्तन छैन । तर अहिले तलमाथि हुँदैन,” ओलीको उद्धृत गर्दै प्रमुख सचेतक भट्टराईले भने ।

बैठकमा एमाले वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता जोगाउन २०७५ जेठ २ गतेको सांगठनको संरचनामा फर्किन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए । शुक्रबारका बैठकमा एमालेका असन्तुष्ट पक्षहरु पनि सहभागी भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार