विवाहेत्तर सम्बन्धका कारण प्रमिलाको हत्या

विवाहेत्तर सम्बन्धकै कारण cको हत्या भएको पाइएको प्रहरीले बताएको छ । शनिबार साँझ काठमाडौं–९ काठमाडौँको गौशालास्थित विजय चोकमा रहेको सिराहा धनुषा होटल एण्ड लजमा प्रमिला दमाईको शव भेटिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँले प्रमिलाको हत्या गरेको आरोपमा सोमबार दोलखाको बैतेश्वर गाउँपालिका ७ घर भई हाल काठमाडौँ बस्दै आएका ३८ वर्षीय कुमार श्रेष्ठलाई सार्वजनिक गरेको छ । सोधपुछका क्रममा विवाहेत्तर सम्बन्धका कारण श्रेष्ठले हत्या गरेको खुलेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

एसएसपी खत्रीका अनुसार प्रमिला र कुमारबीच दोलखाको एक रेडियो कार्यक्रममार्फत चिनजान भएको थियो । दुबै विवाहित हुन् । तर विवाहेत्तर सम्बन्ध राखेपछि परिवारले न्यायिक समितिदेखि प्रहरीसम्म लगेर छुटाउन खोजेका थिए ।

२८ वर्षीया प्रमिला रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर–५ घर भएर श्रीमान नसे दमाइसँग भिमसेन गोलामा बस्दै आएकी थिइन ।

परिवारले छुट्याउन खोजेपनि उनीहरु लुकिछिपि एकअर्कालाई भेट्दै आएका थिए । पछिल्लो समय कुमारलाई प्रमिलाले विवाहका लागि दबाव दिँदै आएकी थिइन । ‘विवाह गर्नुपर्छ’ भन्ने प्रमिलाको दवाबले कुमार तनावमा थिए । माघ २४ गते दिउँसो २ बजे उनीहरु त्यही सिराहा–धनुषा होटल एन्ड लजको कोठा नम्बर १०८ मा बसेका थिए । त्यसक्रममा पनि प्रमिलाले आफुँसँग विवाह गर्न कुमारलाई भनेकी थिइन । तर घरमा श्रीमती हुँदाहुँदै भित्र्याउने नमिल्ने भन्दै कुमार मानेनन्। त्यो दिन होटलमै चर्काचर्की परेर उनीहरु आ–आफ्नो बाटो लागे।

फेरि २६ गते बेलुका ६ बजे उनीहरु पुनः त्यही होटलमा कोठा लिएर बसे। प्रमिलाले विवाह गर्न भन्न थालिन्, कुमार इन्कार गरिरहे। त्यही क्रममा उनीहरुको कुटाकुट नै चल्यो।

हातपात हुने क्रममा कुमारले प्रमिलाको कन्चटमा मुक्का प्रहार गरे। प्रमिला ढलिन्। प्रमिलाले त्यसपछि होहल्ला गरेर मान्छे बोलाउने डरले हतारहतार नाइलनको डोरीले घाँटी कसेर हत्या गरेको कुमारले प्रहरी समक्ष बताएका छन्।

तर उनले पहिल्यै डोरी लिएर जानुले भने उनको हत्या योजनाबद्ध नै रहेको देखिने प्रहरीको भनाइ छ।

बेलुका साढे ७ बजेतिर कुमार प्रमिलाको पनि मोबाइल लिएर गेस्टहाउसबाट फरार भएका थिए।

दुई दिनदेखि फरार भएका कुमारलाई प्रहरीले आइतबार दिउँसो साढे २ बजेतिर बुद्धनगरस्थित लक्ष्मी चोकबाट पक्राउ गरेको थियो ।

कुमारको साथबाट प्रहरीले प्रमिलाको मोबाइल, होटलमा झगडा हुँदा च्यातिएको टिसर्ट लगायत बरामद गरेको छ। प्रहरी वृत्त गौशालाले अदालतबाट म्याद लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार