एनआईसी एशिया बैंकका डेपुटी सीईओ पाण्डेले दिए राजीनामा

एनआईसी एशिया बैंकका डेपुटी सीईओ सुधिरनाथ पाण्डेले राजीनामा दिएका छन् । पाण्डेले बुधबार राजीनामा दिएका हुन् ।पछिल्लो समय एनआईसी एशिया बैङ्कका रणनीतिहरू असफल हुन थालेपछि बैङ्कको व्यवस्थापन माथि दबाब बढ्न थालेको थियो । बैङ्कले राष्ट्र बैङ्क र सञ्चालक समितिलाई झुक्काएर गलत वित्तीय प्रतिवेदन तयार गरेपछि व्यवस्थापन र सञ्चालक समितिबिच विवाद बढेको छ ।

नेपाल राष्ट्र बैङ्कले पनि नियामयकी व्यवस्थाहरूमा चलखेल गरेको भन्दै एनआईसी एशिया बैङ्कलाई कारबाही गर्ने तयारी गरेको छ ।

गत असारमा बैंकले आवासीय कर्जामा ५४ अर्ब ९८ करोड रूपैयाँ लगानी गरेको ‘वासल-३’ अनुसारको आफ्नो रिपोर्टमा देखाएको थियो। तर पुसमा बैंकले सार्वजनिक गरेको यही वासल-३ अनुसारको रिपोर्टमा भने यस्तो कर्जा ७९ अर्बले वृद्धि भएर एक खर्ब ३३ अर्ब रूपैयाँ पुगेको थियो।

बैंकको आवासीय कर्जामा उच्च वृद्धि देखिएपछि यसको अनुसन्धान भइरहेको छ । बैंकहरूले यस्तो कर्जाका लागि अन्य कर्जामा भन्दा कम जोखिम भार राख्न सक्ने भएकाले पनि यस्तो चलाखी गरिएको आशंकामा राष्ट्र बैंकले विशेष सुपरिवेक्षण गरिरहेको हो ।

पछिल्लो समय एनआईसी एसियाद्वारा प्रकाशित अपरिस्कृत वित्तीय विवरण र ‘वासल डिस्क्लोजर’माथि विभिन्न कोणबाट प्रश्न उठ्न थालेपछि सुपरिवेक्षणकै क्रममा लक्षित लेखापरीक्षण (टार्गेट अडिट) पनि सुरु भएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार