गंगालालमा नेपालमा पहिलो पटक मुटुको ‘डबल स्वीच शल्यक्रिया’

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पहिलो पटक मुटुको ‘डबल स्वीच शल्यक्रिया’ सफल भएको छ ।

अति जटिल र जोखिमयुक्त मानिने उक्त शल्यक्रिया यसअघि नेपालमा प्रयास समेत गरिएको थिएन । नवलपरासीको १४ वर्षीया बालिकामा गरिएको उक्त शल्यक्रिया डा. रविन्द्रभक्त तिमला, डा. मरिषा अर्याल, डा. सुजन बोहरा र डा. सन्दीप भण्डारी संलग्न थिए ।

माघ १७ गते अस्पताल भर्ना गरिएकी ती बालिकामा शरीर निलो हुने, राम्रोसँग हिँड्न नसक्ने र अर्धचेत हुने लक्षण थिए । उनको रोगको पहिचान हुन ४२ दिनसम्म अस्पताल भर्ना गर्नुपरेको थियो ।

लगातारको परीक्षणपछि बालिकामा चारवटा संरचनागत त्रुटि पहिचान भएको थियो । डा. तिमलाका अनुसार साइटस इनभर्सस, करेक्टेड ट्रान्सपोजिसन अफ ग्रेट आर्टरिज, भेन्ट्रिकुलर सेप्टल डिफेक्ट, पल्मोनरी स्टेनोसिस जस्ता चारवटा संरचनागत त्रुटी भएको बालिकाको मुटुको र बाहिर गरी दुई ठाउँमा रगत विपरीत ठाउँमा बगिरहेको थियो ।

सेनिङ र रस्टेलिङ नामक दुवै छुट्टाछुट्टै शल्यक्रिया गर्न शल्यक्रिया टोलीलाई १० घण्टा लागेको थियो । उनको मुटु साढे चार घण्टा पूरै बन्द गरिएको थियो ।

शल्यक्रियामा मुटुभित्र र बाहिर गरी दुवैतिर रगत बग्ने बाटो मिलाइएकाले यसलाई ‘डबल स्विच’ शल्यक्रिया भनिएको डा. तिमिलाले बताए । बालिकाको नेपाल सरकारको क्याप कार्यक्रम अन्तरगत पूर्ण निःशुल्क उपचार भएको हो । हाल उनको अवस्था सामान्य रहेको डा. तिमिलाले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार