ज्याला मजदुरी गर्नेमा लागुऔषध समस्या बढ्दो, विद्यार्थीको संख्या पनि उच्च

सुनसरीको धरानमा ज्याला मजदुरी गर्ने वर्गमा लागुऔषधको समस्या बढिरहेको पाइएको छ । अघिल्ला तीन आर्थिक वर्षको तथ्यांक तुलना गर्दा लागुऔषधको प्रयोग र कारोबारका संलग्नहरुमा ज्याला मजदुरी गर्नेहरु सबैभन्दा बढी पाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

बेरोजगार युवा र विद्यार्थीको संख्या पनि बढिरहेको पाइएको छ । आव २०७७/७८ मा लागुऔषध मुद्दामा ज्याला मजदुरी गर्ने २० जना पक्राउ परेकामा आव २०७८/७९ मा ३६ र आव २०७९/८० मा अझै बढे ३९ जना पक्राउ परेका थिए ।

बेरोजगार युवामा आव २०७७/७८ मा पाँचजना र आव २०७८/७९ मा दुईजना पक्राउ परेकामा आव २०७९/८० मा २२ जना पक्राउ परेका थिए ।

लागुऔषधको मुद्दामा पक्राउ पर्नेमा विद्यार्थीको संख्या पनि बढ्दो मात्रामा देखिएको छ । अघिल्ला दुई आर्थिक वर्षमा दुईरदुईजना विद्यार्थी पक्राउ परेकामा आव २०७९/८० मा सातजना पक्राउ परेका छन् । त्यस्तै, उमेरको आधारमा २६ देखि ३५ वर्ष उमेर समूहका सबैभन्दा बढी छन् । प्रहरीले यो उमेर समूहकालाई अघिल्ला दुई आर्थिक वर्षमा ३२ र नौजना पक्राउ गरेकामा आव २०७९/८० मा ४६ जना पक्राउ गरेको थियो । दोस्रोमा ८ देखि २५ वर्षसम्मका युवाको संख्या धेरै छ । १७ वर्षभन्दा कम उमेरका पक्राउ पर्नेको संख्या भने घटेको छ । अघिल्लो आर्थिक वर्षमा ३१ जना पक्राउ परेकामा आव २०७९/८० मा एकजना मात्र पक्राउ परेका थिए ।

इलाका प्रहरी कार्यालयका अनुसार २०७९ साल चैत १ देखि २०८० मंसिरसम्ममा लागुऔषधका ५० मुद्दा दर्ता भएका छन् । जसमा ७० पुरुष र एकजना महिना पक्राउ परेका छन् । चालु आव २०८०/८१ को हालसम्म २५ वटा मुद्दामा ३९ जना पक्राउ परेका छन् ।

आव २०७९/८० मा लागूऔषधका ६५ मुद्दा दर्ता भएकामा ९२ पुरुष र दुईजना महिला पक्राउ परेका थिए । आव २०७८/८९ मा ५५ मुद्दा दर्ता भई ७९ पुरुष र चारजना महिला पक्राउ परेका थिए । आव २०७७/७८ मा ५७ मुद्दा दर्ता भएर ७९ पुरुष र चारजना महिला पक्राउ परेका थिए ।

लागुऔषधका कारोबारीहरुले सवारी साधनमा लुकाएर, फल्स बटन बनाएर, शरीरका विभिन्न भागमा लुकाएर लागूऔषध सेवन र बिक्री वितरण गरिरहेको पाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भीमराज राईले जानकारी दिए । उनका अनुसार धरानमा अवैध रुपमा प्रतिबन्धित औषधिहरुको प्रयोग बढिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार