सप्तरीमा अज्ञात रोगबाट एक महिलाको मृत्यु भएपछि प्रजिअद्वारा निरीक्षण

’अज्ञात रोग’ले एक जनाको मृत्यु हुनाका साथै २५ जना बिरामी परेको खबरपछि आज साँझ सप्तरीका प्रमुख जिल्ला अधिकारीले महदेवा गाउँपालिका–२ चकलाको निरीक्षण अनुगमन गरेका छन् ।

प्रजिअ जयनारायण आचार्य नेतृत्वको जिल्ला प्रशासन कार्यालयको टोलीले चकला गाउँ पुगेर गाउँलेसँग जानकारी लिनाका साथै वस्तुस्थिति अवलोकन गरेको छ ।

टाउको दुख्ने, ज्वरो आउने र पखालाको लक्षण देखिएको चकला टोलकी ४० वर्षीया सीतादेवी रजकको बिहीबार राति मृत्यु भएको थियो । बिहीबार साँझ साढे ७ बजे सो समस्या भएपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना भएकी रजकको राति साढे ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अपच भई पखाला लागेको हुन सक्ने अनुमान गरिए पनि ज्वरोसमेत आएकाले के कारणले मृत्यु भएको हो भन्ने विषयमा परीक्षण भइरहेको निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजितकुमार झाले बताए । अस्पतालमा भर्ना भएकी रजककै परिवारका तीन जनालाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको छ ।

चकला टोलसँगै जोडिएको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाको उत्तर टोलमा पनि यस्तै लक्षणका २१ बिरामी छन् । टाउको दुख्ने, बान्ता हुने, ज्वरो आउने र पखाला लाग्ने समस्या बिहीबार साँझदेखि देखिएको स्थानीय जयनारायण यादवले बताए । तीमध्ये उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका आठ वर्षीय कृष्णकुमार मण्डल, ३० वर्षीया प्रयागीदेवी खंग र ६ वर्षीय पारसकुमार मण्डललाई थप उपचारका लागि धरान रिफर गरिएको अस्पतालले जनाएको छ ।

स्थानीयवासीका अनुसार अस्पताल नगएका बिरामीको स्थानीय मेडिकल क्लिनिक र घरमै स्लाइन पानी लगाई उपचार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार