दर्ता खारेजीका लागि दबाब दिन पूर्वमाओवादी नेताहरू आयोगमा

नेकपा (माओवादी केन्द्र) को दल दर्ता खारेजी माग गरेका एमालेका पूर्वमाओवादी नेताहरू शुक्रबार निर्वाचन आयोग पुगेका छन् ।

उनीहरू उक्त निवेदन छिटो कार्यान्वयनका लागि ध्यानाकर्षण गराउन भन्दै आयोग पुगेका हुन् । टोपबहादुर रायमाझीको नेतृत्वमा प्रभु साह, मणि थापा र गौरीशंकर चौधरीलगायत नेताहरू ११ बजे निर्वाचन आयोग पुगेका हुन् । रामबहादुर थापा बादल र लेखराज भट्ट भने बिरामी भएका कारण नगएको बताइएको छ ।

एमालेमा आएका माओवादीका दोस्रो तहका नेताहरूले बुधबार अधिवक्ता सरोज बुढाथोकीमार्फत आयोगमा नेकपा (माओवादी केन्द्र) को दल दर्ता खारेजीका लागि निवेदन दर्ता गराएका थिए । त्यसमा छिटो निर्णय होस् भन्न आफूहरु आयोग गएको नेता लिलबहादुर थापाले जानकारी दिए । लामो समयसम्म महाधिवेशन नगराएकाले माओवादी केन्द्र अवैध भएको र उक्त पार्टीले आफूहरुमाथि गरेको कारवाही पनि अवैध हुने तर्क उनीहरूको छ ।

सर्वोच्च अदालतले २३ फागुनमा नेकपा खारेज गरेपछि एमालेमा लागेका सांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई माओवादी केन्द्रले कारबाही गरेको थियो । थापा भने सांसद थिएनन् । पार्टीले तत्कालीन राष्ट्रिय सभा सदस्य रामबहादुर थापा र चन्द्रबहादुर खड्कालाई पनि कारबाही गरेको थियो । चार सांसद पदमुक्त भएको सूचना संसद् सचिवालयले प्रकाशित गरी आयोगलाई जानकारी गराएको थियो ।

तर, माओवादी केन्द्र नै अवैध भएकाले त्यसले गरेका कारबाही पनि वैध नहुने पूर्वमाओवादी नेताहरूको तर्क छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार