सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा, अधिकारका लागि सङ्घलाई दबाब दिने

मुलुकका सातवटै प्रदेशका मुख्यमन्त्रीहरू आज बागमती प्रदेशको हेटौँडामा भेला भएका छन् । संविधानमा व्यवस्था भएको प्रदेश र स्थानीय सरकारको अधिकारका बाँडफाँडमा देखिएका समस्या र त्यसको समाधानका लागि सङ्घलाई दबाब दिने उद्देश्यले भेलाको आयोजना गरिएको बताइएको छ ।

भेलामा सङ्घीयता कार्यान्वयनमा देखिएका अस्पष्टता र दोहोरोपन हटाउने, जनशक्ति व्यवस्थापन र राष्ट्रिय तथ्याङ्कको एकीकृत अभिलेख प्रणाली विकास गर्ने, साझा सूचीमा रहेका अधिकारसम्बन्धी कानुन निर्माणमा सहकार्य गर्ने, प्रदेशले पाउने अधिकारलाई प्रत्यायोजन गर्ने लगायत विषयमा छलफल हुनेछ ।

यसअघि गत असारमा पोखरामा बसेको मुख्यमन्त्रीहरूको बैठकले प्रदेशलाई प्रत्यायोजन गर्नुपर्ने सम्पूर्ण अधिकार ६ महिनाभित्र प्रत्यायोजन गरिसक्न माग गरेका थिए । तर यो अवधिमा संघ सरकारबाट आफ्ना मागको सुनुवाइ नभएको भन्दै मुख्यमन्त्रीहरू फेरि भेला भएका हुन् ।

मुख्यमन्त्रीहरूको भेलाले संघ र प्रदेशमा देखिएको असन्तुलन र समस्याका विषयमा छलफल गरी संविधान कार्यान्वयनका लागि आवश्यक सुझाव दिनेछ । भेलामा तीनै तहका सरकारको साझा अधिकारको विस्तृतीकरण र कानुन निर्माण प्रक्रिया, आर्थिक विकास क्षेत्र, सेवा क्षेत्र, पूर्वाधार क्षेत्र र वन वातावरण तथा विपत् व्यवस्थापन क्षेत्रको बारेमा कार्यपत्र प्रस्तुत हुनेछ ।

भोलिसम्म चल्ने भेलामा सातवटै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव, मुख्य न्यायधिवक्ता, गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपाल नगरपालिका सङ्घका पदाधिकारीहरूको सहभागिता रहेकाे छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार