नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर बुधबार रिहा भएका छन् ।
उक्त मुद्दामा सात महिना हिरासतमा बसेका नेता रिजाल धरौटी बुझाएर बुधबार रिहा भएका हुन् । उनलाई गत मंसिर १५ गते नै उच्च अदालत पाटनले १५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
तर धरौटी रकम बुझाउन नसक्दा रिजाल थप झन्डै एक महिना सुन्धारा कारागारमै रहनुपरेको उनका सहयोगी विश्वनाथ क्षेत्रीले जानकारी दिए । रकम बुझाएपछि रिजाल रिहा भएका हुन् । रिहाइपछि रिजालले आफ्नो पक्षमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
काठमाडौं जिल्ला अदालतमा यही आइतबार बेलुकी धरौटी रकम बुझाएका उनलाई बिदाहरू परेका कारण बुधबार मात्रै रिहा गरिएको हो । अब उनी पुस २० गते काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ ।
शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण उच्चको आदेशअनुसार जिल्ला अदालतमा ३० लाख र सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख रूपैयाँ बुझाएर रिहा भइसकेका छन् ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप, आरोपी नरेन्द्र केसी, हरिभक्त महर्जन, शमशेर मियाँ र रामशरण केसीले पनि तोकिएको रकम बुझाएर रिहा भइसकेका छन् । उक्त प्रकरणमा पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वउपप्रधानमन्त्री रायमाझी, इन्द्रजीत राईलगायत भने पुर्पक्षका लागि कारागारमै छन् ।