काठमाडौंमाथि शानदार जित निकाल्दै ललितपुर एनएसएलको क्वालिफायरमा

साबिक विजेता काठमाडौं रेजर्सलाई ३–० ले हराउँदै ललितपुर सिटी नेपाल सुपर लिग (एनएसएल)को क्वालिफायरमा पुगेको छ ।

आज दशरथ रंगशालामा भएको खेलमा ललितपुरलाई जिताउन इमोह इजेकेलले २ तथा पापा इबोउले १ गोल गरे । ३-० ले पछि परेको काठमाडौंका कप्तान अन्जन राई दोहोरो पहेँलो कार्ड खाँदै ७४ औं मिनेटमा बाहिरएपछि काठमाडौं दबाबमा परेको थियो ।

ललितपुरले एनएसएलमा चौथो खेलमा आएर काठमाडौंविरुद्ध गोल गर्दै खेल जितेको हो । फाइनल प्रवेशका लागि क्वालिफायरमा अब ललितपुरले पोखरा थन्डर्ससँग बिहीबार खेल्नेछ ।

लिग चरणमा शीर्ष स्थानमा रहेको पोखरा पहिलो क्वालिफायरमा धनगढी एफसीसँग हिजो टाइब्रेकरमा पराजित भएको थियो । दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि शनिवार धनगढी एफसीसँग खेल्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार