सिन्धुलीमा पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट, श्रीमानसहित ७ जना पक्राउ

सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट गरिएको छ । लेनदेनको विषयलाई लिएर कमलामाई नगरपालिका–४, मा स्थानीय शारदा थापामाथि कुटपिट भएको हो । उनलाई बिजुलीको पोलमा बाँधेर कुटपिट भइरहेको भन्ने जानकारी प्रहरीले आइतबार पाएको थियो। उक्त खबर पाएपछि जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी राजकुमार सिलवाल नेतृत्वको टोली खटिएको थियो।

‘बाँधेर राखेकै अवस्थामा हामीले उद्दार गरेर ल्याएर सेफ होममा राखेका छौं, गाउँबाट उनका श्रीमानसहित ७ जनालाई पक्राउ गरेका छौं’, सिलवालले अ भने, ‘उद्दार गरेर ल्याउँदा उहाँ बेहोस अवस्थामा हुनुहुन्थ्यो, शरीरमा निलडामहरु थिए ।’

आइतबार अपराह्न साढे ४ बजे प्रहरी घटनास्थलमा पुगेर प्रहरीले शारदाको उद्धार गरेको हो। उद्धार गरेपछि प्रहरीले उनलाई सेफ हाउसमा राखेको छ। प्रहरी पुग्दा भने शारदा अचेत अवस्थामै फेला परेको एसपी सिलवालले बताए । त्यसपछि उनको उपचारको लागि सिन्धुली अस्पताल पुर्‍याइएको थियो ।

प्रहरीका अनुसार, उनका श्रीमान् सन्तोष थापाले गाउँका केही व्यक्तिहरुसँग ऋण लिएका थिए । पहिले जग्गाको कारोबार गर्ने उनको पछिल्लो समय कारोबारमा समस्या आएको थियो । त्यहीबेला श्रीमती शारदाले पनि डिभोर्स गर्नलाई अदालतसम्म पुगेकी थिइन् ।

त्यसपछि श्रीमान् सन्तोष समेत भएर गाउँका अन्य व्यक्तिहरुले उनलाई बाँधेर कुटपिट गरेको पाइएको एसपी सिलवालको भनाइ छ । केही दिनअघि पनि शारदाले आफूलाई श्रीमानले अपहरण गरेको भन्दै प्रहरी कहाँ जानकारी गराएकी थिइन् । आफूलाई सिस्नु पानीले हान्ने गरेको समेत उनले प्रहरीलाई बताएकी थिइन् । तर, त्यसपछि उनको मोबाइल समेत अफ भएको थियो ।

यस घटनापछि प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। शारदाका श्रीमान सन्तोष थापासहित अन्य स्थानीयहरू पक्राउ परेका हुन्। उनीहरूलाई प्रहरीले मंगलबार म्याद थप गर्ने तयारी गरिरहेको छ। शारदा आफ्ना छोरासँग काठमाडौंमै बस्दै आएकी थिइन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार