टेकनाथ रिजालले बुझाए धरौटी, बुधबार छुट्ने

पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवलमा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजालले धरौटी बुझाएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन संलग्न रहेको अभियोग लागेका रिजाललाई उच्च अदालत पाटनले मंसिर १५ गते १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

आइतबार दिउँसो काठमाडौं जिल्ला अदालतमा १५ लाख रुपैयाँ धरौटी रकम बुझाएका उनले अदालतबाट छुट पुर्जी पनि लिएका छन् । तर त्यति गर्दा कार्यालय समय सकिएकाले उनी रिहा हुन पाएनन् । केन्द्रीय कारागार कार्यालय स्रोतका अनुसार उनी सम्भवतः बुधबार रिहा हुनेछन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका आरोपी रिहा हुने स्थितिमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई बुझाउन केन्द्रीय कारागारलाई आग्रह गरेको छ ।

शरणार्थी प्रकरणका आरोपीसँग यी दुई निकायले पनि अनुसन्धान गरिरहेका छन् । तर सोमबार र मंगलबार सरकारी कार्यालय बिदा परेका कारण रिजाललाई सम्पत्ति शुद्धिकरण र अख्तियारमा बुझाउन नसकिने भएकाले थुनामै रहने छन् । उनी बुधबार छुट्न लागेका हुन्। रिजाललाई गत असार १ गते अन्य अभियुक्तहरूसँगै केन्द्रीय कारागार लगिएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार