जसपाको विवाद टुंग्याउन इजलास गठन, ३ साउनमा दुवै पक्षलाई बोलाइयो

जनता समाजवादी पार्टी (जसपा) नेपालको विवाद टुंग्याउन निर्वाचन आयोगले आवश्यक प्रक्रिया सुरु गरेको छ । बुधबार बसेको आयोग पदाधिकारीहरूको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको हो । बैठकले सुनुवाइका लागि आगामी साउन ३ गते आइतबार दुवै पक्षलाई बोलाउने समेत बैठकले निर्णय गरेको छ ।

यसअघिको छलफलमा दुवै पक्षले आ आफ्नो आधिकारिकता दाबी गर्दै एकता सम्भव नरहेको बताएपछि आयोगले वैधानिक ढंगले विवाद समाधानको प्रयास थालेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनले दुवै पक्षबाट लिखित जवाफ आएको १५ दिनभित्रै निरूपण गर्ने बताए ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ५ मा ‘विवादका पक्षहरू उपस्थित भई विवाद निरूपण गर्न सहमत भएमा आयोगले पक्षहरूबिच भएको सहमति बमोजिम विवाद निरूपण गर्ने’ उल्लेख गरिएको छ । तर छलफलमा दुवै पक्ष सहमत नभएकोले अब राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ६ अनुसारको प्रक्रिया सुरु हुने आयोगले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार