रुसमा मृत्यु भएका नेपालीको शव फिर्ता ल्याउन कठिन

रुस–युक्रेन युद्धमा रुसका तर्फबाट लड्ने क्रममा ज्यान गुमाएका ६ जना नेपाली नागरिकको शव स्वदेश फिर्ता ल्याउन चुनौतीपूर्ण बनेको छ । अन्तराष्ट्रिय संचारमाध्यम बीबीसीका अनुसार मृत्यु भएको लामो समय बितिसकेकाले शव प्राप्त गर्न कठिन देखिएको हो ।

परराष्ट्र मन्त्रालयले रुसको तर्फबाट युक्रेन युद्धमा लड्ने क्रममा मारिएका नेपालीको शव यथाशीघ्र नेपाल पठाउन रुसलाई अनुरोध गरिएको जानकारी गराएको छ।

मन्त्रालय अन्तर्गतको कन्सुलर विभागका महानिर्देशक प्रकाशमणि पौडेलले भने, ‘‘नेपालको पक्षबाट रुससँग कुरा भइरहेको छ। तर रुसी पक्षबाट त्यसबारे ठोस प्रगति भएको छैन।’’

बीबीसीले केही मृतकका शवहरु जमीनमा गाडिसकिएकोले फिर्ता ल्याउन नमिल्ने उल्लेख गरेको छ । मृतकमध्येको एकको परिवारलाई दूतावासले ‘मृतक नेपालीको शव रुस आफैँले गाडिसकेको जानकारी गराएको’ परिचय उल्लेख गर्न नचाहने मृतकका एक परिवारले जनाएको छ।

गाडिसकेको शव एक वर्षसम्म उत्खनन गर्न नमिल्ने जानकारी रुसी पक्षले आफूहरूलाई गराएको उल्लेख गर्दै दूतावासले उक्त परिवारलाई अर्को वर्ष मृतकको अवशेष उत्खनन गरेर पठाउनेबारे पहल गर्न सकिने आश्वासन दिएको परिवारका एक सदस्यले जानकारी दिए।

त्यस्तै शव ल्याउन ठूलो खर्च लाग्ने हुनाले शवको फोटो र अस्तु ल्याएर परिवारजनलाई हस्तान्तरण गर्न सकिने विकल्पमा समेत कुराकानी भएको दूतावास तथा मातहतको कन्सुलर विभागका अधिकारीसँग पीडित परिवारको कुराकानी भएको बुझिएको छ।

युक्रेनसँग जारी युद्ध लड्न रसियन सेनामा भर्ती भएका ६ जना नेपालीले ज्यान गुमाएको परराष्ट्र मन्त्रालयले जनाएको छ। अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने नेपाली नागरिकमा गोरखाका सन्दिप थपलिया, वाणगंगा १ कपिलवस्तुका रुपक कार्की, कास्की पोखराका देवान राई, स्याङ्जा पुतलीबजार ५ का प्रितम कार्की, दोलखा मेलुङ्ग ६ का राजकुमार रोका र इलाम ५ का गंगाराज मोक्तान रहेका छन् ।

सरकारले रुसी सेनामा भर्ती गरिएका नेपालीहरुको तथ्यांक मागेको छ । साथै अबैध रुपमा भर्ना गरिएका नेपालीलाई तत्काल फिर्ता गर्न नेपालले रुसी सरकारलाई पत्राचार गर्ने निर्णयसमेत गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार