दीक्षितले म्याग्दी नै फिर्ता गरिदिए गोली लागेर छिया-छिया भएको पोल

तत्कालीन नेकपा माओवादी र शाही नेपाली सेनाको भिडन्तका बेला गोली लागेर छिया छिया भएको बिजुलीको पोल म्याग्दी नै फिर्ता भएको छ ।

२०६० साल चैत ७ गते माओवादी र सेनाबीच दोहोरो भिडन्त हुँदा पोलमाथि लागेको गोलीले पोलमा जताजतै प्वाल परेको थियो । उक्त पोल मदन पुरस्कार पुस्तकालयले २०६३ सालमा ललितपुर ल्याएको थियो ।

सो पोल पाटनढोकामा रहेको यलमाया केन्द्रमा पोल राखिएको थियो । शान्ति प्रक्रिया सुरू भएपछि पोललाई म्याग्दीको बेनीमा नै फिर्ता पठाउन स्थानीयले माग गरिरहेका थिए ।

मदन पुरस्कार पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितले बेनी नगरपालिका वडा नम्बर ७ मा बन्न लागेको शान्ति पार्कमा राख्न पोल पठाएको बताए ।

उक्त पोल शान्ति पार्कमा सुरक्षित र प्रदर्शनका लागि राख्नसमेत दीक्षितले आग्रह गरेका छन् । यसबारे उनले जिल्ला समन्वय समिति म्याग्दीलाई लेखेको पत्रमा ‘सशस्त्र द्वन्दले पारेको असरको सम्झनासँगै शान्तिको कामना गर्ने र सचेतना जगाउने उदेश्यका लागि’ पोल सुरक्षित राख्न भनिएको छ ।

भिडन्तमा धेरै क्षति भएको वडा नम्बर ७ मा शान्ति पार्क बनाउने तयारी छ । सो पार्कमा पोल सुरक्षित राख्ने निर्णय भएपछि पुस्तकालयले पोल बेनी नै फिर्ता गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार