तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधार भएको देखिएपनि जनतामा आशाको रक्तसञ्चार भएको छैन: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा सुधार देखिए पनि जनतामा अझै आशा जगाउन नसकिएको बताएका छन् ।

रेस्पोन्सेबल विजनेश समिट कार्यक्रमलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले अर्थतन्त्रको क्षेत्रमा देखिएको दबाबलाई चिर्दै देशभित्र लगानीको वातावरण बनाउने प्रयास अझै जारी रहेको पनि बताए ।

‘यहाँहरु सबैलाई अवगत नै छ(अर्थतन्त्रको क्षेत्रमा विद्यमान दबाबलाई चिर्न र देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न मैले लगातार प्रयास गर्दै आएको छु’, उनले भने, ‘केही दिन पहिला मैले सरकार, निजी क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरु सम्मिलित बैठक गरेर अर्थतन्त्रमा सुधार ल्याउन बृहत अन्तरक्रिया गरेको छु । अन्तरक्रियापछि केही महत्वपूर्ण घोषणासमेत गरिएको छ । मेरो विश्वास छ(उक्त अन्तरक्रिया र घोषणाले अर्थतन्त्रमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ ।’

प्रधानमन्त्रीले तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिएपनि व्यवहारमा आम जनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मेहनत गर्नुपर्ने परिस्थिति रहेको बताए ।

उनले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत बैठक र केही नयाँ घोषणसमेत गर्ने तयारी गरिरहेको बताए । सरकार, निजी क्षेत्र र समानका अग्रणी निकायलाई एकै मञ्चमा ल्याएर जिम्मेवार बन्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न सफल हुनेछ भन्ने विश्वास व्यक्त गरे । सरकार राष्ट्रिय व्यवसायिक पहललाई आवश्यक सहयोग र साझेदारीका लागि प्रतिबद्ध रहेको बताए ।

‘तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिन्छ । तर, आमजनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मिहिनेत गर्नुपर्ने परिस्थिति हाम्रासामु छ’, उनले भने, ‘त्यसैले मैले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत् बैठक र केही नयाँ घोषण गर्ने तयारी गरिरहेको छु । त्यसमा यहाँहरुको सक्रिय सहभागिता, महत्वपूर्ण सुझाव र कार्यान्यवनमा जिम्मेवारीवोध एवम् तत्परता रहने विश्वास लिएको छु ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार