विराटनगर आगलागी घटनाका चारजना घाइतेलाई काठमाडौं लगियो 

विराटनगरमा कबाडी गोदाम भएको आगलागीमा परेर घाइते भएका चार जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ । जिल्ला सुरक्षा समितिको सिफारिसमा नेपाली सेनाको जहाजबाट चारजनालाई काठमाडौं लगिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार विराटनगर–६ की ६५ वर्षीया सुशीला पासवान, सोही वडाकी ६० वर्षीया रिता सरदार, ५८ वर्षीय किशोर कामत र मोरङ कटहरी गाउँपालिका वडा नम्बर ६ की ३० वर्षीया पिंकी कामतलाई काठमाडौं पठाइएको हो । रिता सरदार र सुशीला पासवानको स्वास्थ्य अवस्था गम्भीर छ । उनीहरूको काठमाडौंमा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार हुने छ ।

विराटनगर महानगरपालिका–७ सातघुम्तीस्थित गोदाममा बुधबार अपराह्न आगलागी हुँदा दुई जनाको मृत्यु भएको थियो । जसमध्ये ३० वर्षीय दिपक मण्डलको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो । एक महिलाको शव गोदाममै जलेको अवस्थामा फेला परेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार