रुसी सेनामा पठाउने गिरोहमा पूर्वसैनिक समेत संलग्न, जाने भूतपूर्व सैनिकदेखि बहालवाला प्रहरीसम्म

नेपालीलाई रुसी सेनामा पठाउने कार्यमा नेपाली सेनाका पूर्व सैनिकको समेत संलग्नता देखिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको १२ जनाको समूहमा पूर्व सैनिक समेत रहेका छन् ।

उदयपुरको कटारीका ४२ वर्षीय हरिबहादुर विश्वकर्मा नेपाली सेनामा कार्यरत थिए । उनले नेपाली सेनाबाट राजीनामा दिएर रसियामा सैनिक सेवामा पठाउने कार्यमा संलग्न रहेको खुलेको हो ।

उनले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका बहालवाला कर्मचारीका पासपोर्ट संकलन गरेर रसियाको सेनामा पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ । केही बहालवाला प्रहरीहरूको पासपोर्ट समेत प्रहरीले बरामद गरेको छ ।

यस्तै अन्य पक्राउ पर्नेमा काठमाडौं बस्ने सन्तोष रोका, सिन्धुपाल्चोकका २३ वर्षीय मनिष न्यौपाने, काठमाडौंका २३ वर्षीय रोजल महर्जन, बूढानीलकण्ठका ३१ वर्षीय क्षितिज गिरी र सिराहाका १९ वर्षीय दिपेन परियार छन् ।

त्यस्तै, काभ्रेका २९ वर्षीय सुवास लामा, चितवनका २५ वर्षीय गोकर्ण अर्याल, बाराका २४ वर्षीय सन्तोष नेपाल, ओखलढुंगाकी २५ वर्षीया सुजाता दाहाल, लमजुङका ३५ वर्षीय ईश्वर अधिकारी र दाङका द्रोणा डाँगी पनि पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये दाहालको साथबाट २७ र अधिकारीको साथबाट १६ वटा गरेर ४३ वटा राहदानीसमेत प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार, दाहाल पहिले कन्सल्टेन्सी चलाउँथिन् ।

पासपोर्ट बाहकमध्ये कतिपयलाई रुस लैजाने तयारी गिरोहले गरिरहेको प्रहरीले बतायो । अनुसन्धान अधिकृतहरुका अनुसार, दाहालले रुस पठाउन भिसा प्रोसेसिङका लागि मात्र आफूले सहयोग गर्ने गरेको बयान दिएकी छन् । अधिबारीले पनि इन्कारी बयान दिएका छन् ।

यसरी रसिया पुगेका ११ जना फर्किएको गिरोहका सदस्यबाट खुलेको छ । सुरुमा ५/१० जनाको समूहबाट रसिया सुरु गरेका यी व्यक्ति तथा कन्सलटेन्सीहरूले हाल विज्ञापन खोलेरै अन्तर्वार्ता समेत सञ्चालन गर्ने गरेको पाइएको छ ।

रसियामा राम्रो तलब सुविधा हुन्छ, ग्रिनकार्ड चाँडो बन्छ, जानको लागि ७ लाख रुपैयाँ लाग्छ र मासिक २ लाख रुपैयाँ कमाई हुन्छ भनी प्रचारप्रसार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

यसरी विज्ञापन देखेपछि सम्पर्कमा आएका युवाहरूलाई एजेन्टले जम्मा गरी ५/१० जनाको समूह बनाई भिसाको प्रक्रिया गर्ने गरेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार