बालकृष्ण खाँणको निवेदन मंसिर २८ मा एकल इजलासमा पेश हुने

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पुर्पक्ष थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको पुनरावेदन प्रतिवेदन मंसिर २८ गते सुनुवाइ हुने भएको छ।

उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले खाँणको पुनरावेदन निवेदन मंसिर २८ गते एकल इजलासमा पेश हुने जानकारी दिए।

यसअघि संयुक्त इजलासमा दुई न्यायाधीशबीच खाँणलाई धरौटीमा छाड्ने विषयमा राय बाझिएको थियो।

गत शुक्रबार न्यायाधीश जनक पाण्डेले ३० लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश गरे पनि न्यायाधीश प्रकाश खरेलले त्यसमा सहमत हुन नसकिने राय दिएपछि तेस्रो न्यायाधीश समक्ष पेश गर्ने आदेश भएको थियो।

पाण्डे र खरेलको संयुक्त इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न २० जनामध्ये ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेश सदर गरेको थियो। ​

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, डा.इन्द्रजित राई, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोबिन्द कुमार चौधरी, सन्देश शर्मा र आङ्टावा शेर्पालाई थुनामा पठाउने जिल्लाको आदेश सदर गरेको हो।

इजलासले ६ जनालाई धरौटीमा र ४ जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार