विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारसँग आग्रह

 परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलमा अज्ञात अवस्थामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारसँग आग्रह गरेका छन्। 

उनले परराष्ट्र मन्त्रालयमा मङ्गलबार नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग जोशीको अवस्था पत्ता लगाउनका लागि कूटनीतिक पहलका लागि अनुरोध गरेका हुन्।

इजरायलमा आक्रमण गरेको हमास समूहको नियन्त्रणमा रहेको अनुमान गरिएका नेपाली नागरिक जोशीको रिहाइका लागि सबै उपाय लगाएर पहल गरिदिन मन्त्री साउदले अनुरोध गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले दिएको जानकारी अनुसार भेटवार्ताका क्रममा कतारका राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबिच फेरि युद्ध सुरु भएको र त्यसलाई रोक्न कतार सरकारले पहल गरिरहेको बताए। 

साथै उनले नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरूको रिहाइका लागि प्रयास जारी रहेको बताए। परिस्थिति जटिल भएपनि अर्को युद्धविरामका लागि पहल भइरहेको र बन्दी छुटाउनका लागि पनि प्रयास गरिरहेको राजदूत अन्सारीले बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार