नेपाली युवालाई रुसी सेनामा पठाउने १२ जना पक्राउ

नेपाली युवकलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ परेका छन्। प्रहरीले ११ जनालाई मंसिर १३ गते र एक जना सोमबार पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरि विश्वकर्मा र ईश्वरी अधिकारी छन् ।

यस्तै गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष रोक्का, सन्तोष नेपाल र द्रोण डाँगी पनि पक्राउ परेका छन् । उनीहरुविरुद्ध प्रहरीले अनुसन्धानका लागि म्याद थपसमेत गरिसकेको छ।

युक्रेनसँग जारी युद्ध लड्न रसियन सेनामा भर्ती भएका ६ जना नेपालीले ज्यान गुमाइसकेका छन् भने एक नेपाली बन्धक रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने नेपाली नागरिकमा गोरखाका सन्दिप थपलिया, वाणगंगा १ कपिलवस्तुका रुपक कार्की, कास्की पोखराका देवान राई, स्याङ्जा पुतलीबजार ५ का प्रितम कार्की, दोलखा मेलुङ्ग ६ का राजकुमार रोका र इलाम ५ का गंगाराज मोक्तान रहेका छन् । त्यस्तै विवेक खत्री रुसी सेनामा भर्ती भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका छन् ।

सरकारले यसअघि मङ्सिर १६ गते केही मित्रराष्ट्रसँग परम्परागत सम्झौताका आधारमा गोर्खा भर्ती भए पनि रुससँग त्यस्तो भर्तीको सम्झौता नभएको स्पष्ट पार्दै भर्तीमा नजान अपिल गरेको थियो । तथापि अवैधानिक रुपमा रुसी सेनामा गएर उनीहरुले ज्यान गुमाएका हुन् ।

नेपाल सरकारले सरकारी कामकाज, रुसी सरकारको छात्रवृति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकलाई रुसको यात्रा गर्नुपरेमा मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागबाट नो अब्जेक्सन प्रमाणपत्र लिएरमात्र यात्रा गर्न परराष्ट्र मन्त्रालयले अपिल गरेको छ । साथै मन्त्रालयले कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकहरुको सेनामा भर्ती हुन नजान पनि अनुरोध गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार