पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे आन्दोलन घोषणा

आफूसहितका नेताहरूविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी गरेपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

२०७६ पुसको मुद्दा ब्यूँताएर अदालतले दुई दिनअघि महासचिव कमरेड विप्लब सी, प्रवक्ता प्रकाण्ड सी र पोलिटब्युरो सदस्य माइला सी लगायतका नाममा पक्राउ पुर्जी जारी गरेपछि आन्दोलन घोषणा गरिएको हो।

विप्लवले अदालतको उक्त कार्य २०७७ फागुन २१ गते भएको ३ बुँदे सहमतिको ठाडो उल्लंघन भन्दै बाँकी समस्यालाई शान्तिपूर्ण निकास दिन भइरहेका गम्भीर पहलमाथिको हमला भनेका छन्।

अदालतको उक्त कदमलाई विप्लवले गैरकानुनी, असभ्य एवं अराजक कार्य भन्दै भर्त्सना गरेका छन्। सरकारले प्रतिबन्ध हटाउँदा गरिएको ३ बुँदे सहमतिमध्ये एउटा बुँदा पार्टी नेता कार्यकर्ताविरुद्धका मुद्दा फिर्ता लिने र बन्दी मुक्त गर्ने उल्लेख रहेको उनले स्मरण गराएका छन्।

राज्यका सहमतिलाई कानुनको अंग बनाएर समस्या समाधान गर्न मद्दत गर्नुपर्ने अदालतले गैरकानुनी कदम चाल्नु देशमा शान्ति भाँड्न अदालत र न्यायाधीश नै सक्रिय बनेको आरोप पनि उनले लगाएका छन्।काठमाडौं जिल्ला अदालतमा दर्ता भएको राज्यविरूद्धको कसुरमा उनीहरुविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भइसकेको छ।

विप्लवले अदालतको उक्त कदमविरुद्ध मंगलबार साँझ देशभर मसाल जुलुस निकाल्ने घोषणा गरेका छन्।

विप्लवले बुधबार दिउँसो ३ बजे काठमाडौं जिल्ला अदालतका न्यायाधीशको पुत्ला दहन पनि घोषणा गरेका छन्। त्यस्तै बिहीबार दिउँसो २ बजे देशव्यापी जनप्रदर्शन गरिने भएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार