भारतमा सामुद्रिक आँधी ‘मिचाउङ’को प्रभाव: चेन्नईमा पाँच जनाको मृत्यु, सबै उडान रद्द

बंगालको खाडीको मध्यपश्चिम क्षेत्र आसपास विकसित ‘मिचाउङ’ नामक शक्तिशाली सामुद्रिक आँधीका कारण भारतमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । मिचाउङको प्रभाव मंगलबार भारतको दक्षिण आन्ध्र प्रदेश तथा उत्तरी तमिलनाडु किनारसम्म पुग्ने चेतावनी दिइएको छ ।

सामुद्रिक आँधी ‘मिचाउङ’को प्रभावका कारण तमिलनाडु र आन्ध्र प्रदेशका कयौं स्थानमा भारी वर्ष भइरहेको छ । आँधीका कारण चेन्नईमा भारी वर्षा भइरहेको छ । अविरल वर्षा र बाढीले चेन्नईमा हालसम्म ५ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुने पाँच जनामध्ये दुई जनाको करेन्ट लागेर र एक जनाको रुख ढलेर मृत्यु भएको हो । अन्य दुई जनाको मृत्युको कारण भने खुल्न सकेको छैन ।

भारतीय मौसम विभागका अनुसार ‘मिचाउङ’चेन्नईबाट १३० किलोमिटर उत्तरमा रहेको छ । यो तूफान दक्षिण आन्ध्र तटमा समानान्तर सर्नेछ ।

राज्यका सबै ठूला सुरुङहरू पानीले भरिएकाले बन्द गरिएका छन् । भारी वर्षाका कारण चेन्नईलगायत धेरै जिल्लामा सडक डुबानमा परेको छ । चेन्नईका धेरै ठाउँमा रुख सडकमा ढलेका छन् ।

वर्षाका कारण चेन्नईका घरेलु र अन्तर्राष्ट्रिय विमानस्थलहरू डुबानमा परेका छन् र उडान आवागमन रोकिएको छ ।

विमानस्थल प्रशासनले सोमबार रातिसम्मका सबै उडान रद्द गरेको थियो । करिब १५० उडान सेवा प्रभावित भएको समाचारमा उल्लेख छ ।

स्थितिको पूर्वानुमान गर्दै तमिलनाडु सरकारले चेन्नई, तिरुवल्लुर, कांचीपुरम र चेंगलपट्टुमा बिदा दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार