टिकटक प्रतिबन्धविरुद्धका रिटमा आज पूर्ण सुनुवाइ 

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदै छ । सरकारको निर्णयमा सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै आजका लागि पूर्ण सुनुवाइको मिति तय गरेको थियो ।

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको इजलासले १४ रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

न्यायाधीश शर्माको इजलासले मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न आदेश गरेको थियो ।

गत २७ कात्तिकमा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले समाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उक्त निर्णय अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको दाबी गर्दै मंसिर १ र ४ गते गरी १४ रिट परेका थिए । रिटको मागबमोजिम अन्तरिम आदेश जारी नभएसँगै सरकारको निर्णय रिटको फैसला नहुँदासम्म कायम रहने बाटो खुलेको हो ।

कात्तिक २७ गते तिहारको बिदाको समयमा मन्त्रिपरिषद्ले गरेको निर्णयविरुद्ध यही मंसिर १ गते १० रिट दर्ता भएका थिए । यस्तै, थप चार रिट सोमबार दर्ता भएका थिए । सबै रिटलाई लगाउमा राखी भएको सुनुवाइमा कारण देखाउ आदेश जारी भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार