परराष्ट्र मन्त्रालयले भन्यो- रूसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भइसक्यो

परराष्ट्र मन्त्रालयले रूसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले ६ नेपालीको मृत्यु भएको जानकारी प्राप्त भएको जनाएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘रूसमा हालै ६ जना नेपाली नागरिकहरूको रूसी सेनामा कार्यरत रहँदा निधन भएको जानकारी यस मन्त्रालयलाई प्राप्त भएको छ,’।

मन्त्रालयका अनुसार गोरखाका सन्दिप थपलिया, बाणगंगा १ कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाको पुतलीबजार ५ का पितम कार्की, मेलुङ्ग ६ दोलखाका राजकुमार रोका र इलाम ५ का गंगाराज मोक्तानको मृत्यु भएको छ ।

रूसी सेनामा कार्यरत रहँदा मृत्यु भएकाहरूको शव यथाशीघ्र स्वदेश ल्याउउन सरकारले पहल गरिरहेको पनि विज्ञप्तिमा भनिएको छ ।

‘नेपाल सरकारले रूसी सरकारलाई निजहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन अनुरोध गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

सरकारले नेपाली नागरिकलाई रूसी सेनामा भर्ना नगर्न र भर्ना गरेको भए तत्काल नेपाल फर्काउन पनि रूसी सरकारलाई आग्रह गरेको छ । रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा पनि कुटनीतिक पहल भइरहेको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार