हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर

हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपातपछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।

सिमकोटसहित तल्लो भेगमा समेत हिमपात भइरहेको छ । जिल्लाको उत्तरी उच्च क्षेत्रमा एक फिटसम्म हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको नाम्खा गाउँपालिका–६ स्थित हल्जी स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी लोकेश बोहराले बताए । हिमपातसँगै आवतजावतमा समेत कठिनाइ भएको उनले बताए ।

हिमपातसँगै हवाई सेवा पनि प्रभावित भएको छ । जिल्लाबाहिर जाने यात्री सिमकोटमै रोकिएका छन् । चिसो अत्यधिक बढेको स्थानीय लव परियारले बताए । अहिलेसम्म सदरमुकाम सिमकोटमा चार इन्चभन्दा बढी हिमपात भएको छ । यो वर्ष पहिलोपटक हिमपात भएको र यसले बालीलाई राम्रो गर्ने स्थानीयको भनाइ छ ।

चिसोबाट बच्न यहाँका बासिन्दा, कर्मचारी, विद्यार्थीले दाउराको जोहो गर्दै आगो ताप्ने गरेका छन् । चिसोबाट बच्न न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

मुस्ताङमा पनि हिमपात
मुस्ताङमा यो याममा पहिलोपटक हिमपात भएको छ । सोमबार बिहानैदेखि हिमपात भएको हो । सदरमुकाम जोमसोमदेखि आसपासका सबै क्षेत्रमा हिमपात भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए ।

बिहानैदेखि हिमपात भए पनि कार्यालयहरू सञ्चालनमा रहेको उनको भनाइ छ । यातायातका साधन पनि निरन्तर चलिरहेका छन् ।

हिमपात भएपछि किसान भने हर्षित भएका छन् । लामो समय वर्षा नहुँदा किसानका बाली सुक्न थालेका थिए । यो सिजनमा परेको पानीले बालीनाली राम्रो हुने स्थानीय इन्द्रमान गौचनको भनाइ छ ।

हिमपातले स्थानीयलाई कामधन्दा र पशुचौपायालाई दाना तथा घाँस खुवाउन समस्या भएको गौचनले बताए । उनी भन्छन्, “यस वर्ष पहिलोपटक हिउँ परेको छ । अहिले पनि निरन्तर परिरहेको अवस्था छ । यति बेला परेको हिउँले बालीनालीलाई निकै राम्रो गर्छ । लामो समयसम्म पानी नपर्दा लगाएका बाली पनि सुकेर मर्न थालेका थिए, अब सप्रिने भए ।”

मान्ममा हिमपात
कालीकोटको मान्ममा पनि आज बिहानैदेखि पानी परेपछि किसान खुसी भएका छन् । कर्णालीका हिमाली जिल्लामा पानी र हिमपात सुरु भएपछि बाली सप्रिने आशामा किसान खुसी भएका हुन् ।

पानीसहित हिमपात पर्नु किसानका निम्ति निकै राम्रो भएको कालीकोटको नरहरिनाथ गाउँपालिका–९ का वडाध्यक्ष प्रदीप बोहोराले बताए । “गहुँबाली छरेका बेला पानी परेकाले किसानका लागि निकै राम्रो भएको छ,” उनले भने ।

मान्मको तल्लो भू–भागमा पानी परेको छ भने उच्च क्षेत्रमा हिमपात सुरु भएको रास्कोट नगरपालिका–१ का धनिराम सिंम्खडाले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार