इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु, १२ बेपत्ता

इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु र १२ जनाभन्दा बढी बेपत्ता भएका स्थानीय अधिकारीलाई उद्धृत गर्दै अलजजिराले सोमबार जनाएको छ । अधिकारीहरूका अनुसार पश्चिमी सुमात्रामा आइतबार ज्वालामुखी विस्फोट हुँदा उक्त क्षेत्रमा करिब ७५ जना थिए ।

पदाङ खोज एवं उद्धार एजेन्सीका प्रमुख अब्दुल मलिकले भने, “त्यहाँ २६ व्यक्ति छन् र उनीहरूलाई बाहिर निकालिएको छैन । तीमध्ये तीनजना जीवित र ११ मृतकसहित १४ जनालाई फेला पारेका छौँ ।”

आइतबार भएको विस्फोटको भिडियो फुटेजमा ज्वालामुखीको खरानीको ठूलो बादल आकाशमा फैलिएको र कार तथा सडक भग्नावशेषले ढाकेको देखिएको छ । अलजजिराका अनुसार सोमबार एउटा सानो विस्फोटका कारण उद्धारकर्मीलाई आफ्नो उद्धार अभियान स्थगित गर्नुपरेको थियो ।

मुलुकको ज्वालामुखी एजेन्सीका अनुसार दुई हजार ८९१ मिटर उचाइको माउन्ट मारापीसहित इन्डोनेसिया प्रशान्त महासागरको कथित ‘रिङ अफ फायर’मा अवस्थित छ । यहाँ १२७ सक्रिय ज्वालामुखी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार