चार महिनामा रसुवागढी नाकाबाट आठजना पक्राउ

चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठजनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरूका साथबाट तीन करोड ३१ लाख ८१ हजार १९८ रुपैयाँबराबरको सामग्री समेत बरामद गरिएको र कानुनी कारबाहीका निम्ति रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए ।

चीनबाट आयात गरिएका ती सामग्री रसुवागढी, घट्टेखोला, टिमुरे र स्याफ्रुबेँसी समेतका स्थानबाट केही भरिया र विभिन्न सवारीसाधनमार्फत काठमाडौंतर्फ लैजानेक्रममा प्रहरीले बरामद गरेको उनले बताए ।

रसुवागढी नाकामा चोरी निकासी नियन्त्रण गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल परिचालित छन् । प्रहरीले गत वर्ष पनि एक करोड ५१ लाख ५६ हजार २३० रुपैयाँबराबर भन्सार छलीका सामग्री बरामद गरी कानुनी कारबाहीका निम्ति भन्सार कार्यालय टिमुरेमा बुझाएको थियो ।

यस्तै, चालु आवको हालसम्म विभिन्न घटनाका १४ मुद्दा जिल्ला सरकारी वकिलमार्फत अदालतसामु पेस गरिएको छ । यसरी पेस गरिएका मुद्दामा लागुऔषध, कर्तव्य ज्यान, चोरीलगायत छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार