प्रधानमन्त्रीको स्पष्टीकरण : ३१ जना यात्रु छुटेको दुबई पुगेपछि मात्र थाहा पाएँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना लागि उडान २ घण्टा अगाडि सार्दा ३१ जना यात्रु छुटेको विषय दुबई पुगेपछि मात्र थाहा पाएको बताएका छन् ।

यूएईको पाँचदिने भ्रमण सकेर फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यात्रु छुटेको थाहा पाएको भए कुरेरै लैजाने पनि बताए ।

‘यदी मलाई २ घन्टा अगाडि सारिँदैछ र त्यसो गर्दा ३१ जना यात्रु छुट्छन भन्ने थाहा भएको भए म दुई घन्टा छिटो ल्याउन दिँदैनथेँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘दुई घन्टा अघि ल्याउनपर्ने भन्ने मेरो मनसाय पनि थिएन । मैले क्यानले कसरी मिलायो भन्ने मात्रै बुझेँ ।’

उनले आफूलाई सो बारे यूएई पुगेपछि मात्रै थाहा भएको बताए । ‘मैले उहाँ पुगेपछि मात्रै थाहा भयो कि मेरो कारणले ३१ जना यात्रुहरू छुट्नुभयो । मैले उहाँ साथीहरूलाई पनि त्यही कुरा भनेको थिएँ,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्ड जलवायु परिर्वतनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन बुधबार राति नेपाल एयरलाइन्सको विमानबाट दुबई गएका थिए । उनको यात्राका लागि उडान २ घण्टा अगाडि सारेका कारण ३१ जना यात्रु छुटेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार