कोप–२८ मा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

संयुक्त राष्ट्र संघीय वातावरण सम्मेलन (कोप–२८) मा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । गत बुधबार यूएई प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड आफ्नो ५ दिने कार्यक्रम सकेर आइतबार साँझ साढे ६ बजे काठमाडौँ अवतरण गरेका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले स्वागत गरे ।

१४–१६ मंसिरमा भएको सो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्‌बाट वन तथा वातावरणमन्त्री वीरेन्द्र महतो पनि त्यसतर्फ प्रस्थान गरेका थिए ।

शनिबार उनले कोप २८ लाई सम्बोधन गर्दै विकसित देशहरूका कारण नेपालजस्तो कम विकसित मुलुकहरूले जलवायु परिवर्तनको मार खेप्नु परेको बताएका थिए । कार्बन उत्सर्जनमा शून्य योगदान भएपनि नेपाल जलवायु परिवर्तनको नकारात्मक असर भोग्न बाध्य भएको उनको भनाइ थियो ।

त्यसअघि शनिबारै प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई निम्त्याएर गोलमेच बैठक आयोजना गरेका थिए ।

आइतबार उनको संयुक्त राष्ट्रसंघका महासचिप एन्टोनियो गुटेरेससँग पनि भेट भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार