नक्कली भुटानी शरणार्थी: धरौटी बुझाए पनि छुटेनन् तीन आरोपी, तीन जनाले बुझाएनन्

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले धरौटी तथा साधारण तारेखमा छाड्न आदेश दिएका सात जना प्रतिवादी आइतबार पनि छुटेनन् ।

शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलले सात जना प्रतिवादीहरूलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिएको थियो । उक्त आदेश जारी भएपनि उनीहरू छुटेका छैनन् ।

अदालतले आशिष बुढाथोकीलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउनुपर्ने भएकाले रिहा नगरेको केन्द्रीय कारागार स्रोतले बताएको छ ।

यस्तै अदालतले हरिभक्त महर्जनलाई १५ लाख, शमशेर मियाँ र नरेन्द्र केसीलाई १० १० लाख धरौटी माग गरेको थियो । उनीहरुले सो रकम बुझाए पनि उनीहरुमाथि पनि अख्तियार र सम्पत्ति शुद्धीकरणले अनुसन्धान गरिरहेको कारण नछुटेका हुन् ।

उच्च अदालतले भुटानी शरणार्थी नेता टेकनाथ रिजालसँग १५ लाख, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपसँग ३० लाख र रामशरण केसीसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको छ । उनीहरूले धरौटी नबुझाएकाले प्रक्रियामा गइसकेको छैन ।

यस्तै टोपबहादुर रायमाझी, इन्द्रजित राई, आङटावा शेर्पा लगायत ९ जनालाई थुनामा नै राख्न आदेश दिएको छ । त्यस्तै बालकृष्ण खाँणको हकमा भने दुई न्यायाधीशको राय बाझिएकाले तेस्रो न्यायाधीशको इजलासमा पुनः सुनुवाइ हुने भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार