‘परदेशी २’ ले मनायो ५१ औँ दिन

नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ ले प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ । असोजको २६ गतेबाट प्रदर्शनमा आएको यस फिल्मले शनिबार राजधानी र मोफसलका केही हलमा ५१ दिन पूरा गरेको हो।

चलचित्रले ५१ दिन पूरा गरेको अवसरमा निर्माण पक्षले केक काटेका छन्। शनिबार बेलुका आयोजित सेलिब्रेसन कार्यक्रममा अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी, निर्माता राजेश वंशलसहितको उपस्थितिमा केक काटेर खुशी साटिएको हो ।

अभिनेता सपूतले पहिलो चलचित्रले नै ५१ दिन मनाउनु आफ्नो लागि अविश्वनीय सफलता भएको बताए । ‘बच्चैदेखि चलचित्र खेल्ने सपना देखेको थिएँ। त्यो सपना पूरा भयो र त्यसले सफलताको इतिहास पनि लेख्यो । यो मेरो लागि अविश्वनीय सफलता हो। दर्शकबाट पाएको अपार प्रेमको हद हो। सबैप्रति कृतज्ञ छु ।’ अभिनेत्री अधिकारीले ५१ दिनको सेलिब्रेसनको पल आफ्नो लागि पहिलो रहेको बताइन् ।

‘लगभग ३३ चलचित्रमा कलाकार भएर अभिनय गर्ने मौका पाउँदा, १३ वर्षको करिअर ग्राफमा यो मोमेन्ट पहिलोपटक अनुभव गर्ने मौका पाएकी छु। उसो त योभन्दा अगाडि ‘छ माया छपक्कै पनि ५१ दिन पूरा गरेको चलचित्र हो। तर, यसरी सेलिब्रेट गर्ने मौका पाएका थिएनौं। त्यसैले यो मोमेन्ट मेरो लागि धेरै महत्वपूर्ण छ।’

फिल्ममा प्रकाश, केकीसहित वर्षा शिवाकोटी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लुलगायतको अभिनय छ।

रमेश बिजीको कथा रहेको फिल्मले युवापुस्तामा रहेको विदेश मोह, त्यसले परिवार र समाजमा पारेको प्रभावलाई भन्छ। परदेशी २ ले नेपालमा ८ करोड हाराहारी ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ।

नारायण रायमाझी र राजेश वंशलको यो तेस्रो सहकार्य हो। यसअघिका दुबैको सहकार्यमा बनेका फिल्म ‘गोर्खा पल्टन’ र ‘परदेशी’ ले पनि ५१ दिनको यात्रा पार गरेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार