सर्लाहीमा दुई मोटरसाइकल जुध्दा सडकमा खसेका युवकलाई बसले किच्यो

सर्लाहीको बागमतीमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

शनिबार साँझ पूर्वपश्चिम राजमार्गमा पर्ने बागमती नगरपालिका ४ पुरानो चौकीमा दुई मोटरसाइकल आपसमा ठक्कर खाँदा उछिट्टिएर सडकमा खसेका युवकलाई बसले किचेको हो ।

घटनास्थलमै मृत्यु भएका अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन । उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

तीव्र गतिमा रहेको प्र२ ०३ ००६ प ६७ मोटरसाइकल र बा २ ब ५७६६ नम्बरको मोटरसाइकल आपसमा जुध्दा प्र२ ०३ ००६ प ६७ नम्बरको मोटरसाइकलमा सवार युवक सडकमा खसेका थिए ।

त्यहीबेला मलंगवाबाट काठमाडौँ तर्फ जाँदै गरेको ना७ ख १८३६ नम्बरको बसले किच्दा युवकको मृत्यु भएको सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए । दुर्घटनापछि बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा परेको मोटरसाइकलका चालक भागेको कारण मृतक युवकको सनाखतमा समस्या परेको डीएसपी पञ्जियारले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार