रियल शीर्ष स्थानमा उक्लियो

ग्रानाडाविरुद्ध २–० को जित निकाल्दै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार सान्टियागो बर्नबेउमा सम्पन्न खेलमा घरेलु टिमलाई जित दिलाउन ब्राहिम डियाज र रोड्रिगोले गोल गरे । रियलले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको थियो ।

२६औँ मिनेटमा डियाजले गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए । यस्तै, ५७औँ मिनेटमा रोड्रिगोको गोलमा रियलले अग्रता दोब्बर बनायो ।

घरेलु टिमको चर्को दबाब झेलेको ग्रानाडाले भने खेलभर कुनै पनि प्रहार ‘टार्गेट’ मा राख्न सकेन ।

जितसँगै १५ खेलबाट ३८ अंक जोडेको रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियललाई पछ्याइरहेको जिरुनाले पनि १५ खेलबाट ३८ अंक नै जोडेको छ ।

शनिबार राति नै भएको अर्को खेलमा जिरुनाले भ्यालेन्सियाविरुद्ध २–१ को जित निकालेको थियो । तालिकाको रेलिगेसन क्षेत्रमा संघर्षरत ग्रानाडाले भने १५ खेलबाट सात अंक जोडेको छ । नवौँ स्थानको भ्यालेन्सियाको खातामा १९ अंक छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार