एनसेल शतिशलाल आचार्यको स्पेक्ट्रलाइट यूकेले किन्यो

आजियटाले ६ अर्ब ६५ करोड रुपैयाँमा स्पेक्ट्रलाइट यूकेलाई एनसेल बेचेको छ । आजियटा समूहले ८० प्रतिशत स्वामित्व रहेको रेनोल्डस् होल्डिङ लिमिटेडलाई स्पेक्ट्रलाइट यूके लिमिटेडसँग बिनासर्त बिक्री गर्ने सम्झौता गरेको हो । उक्त सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजियाटाको सेन्टस् कीटस् एन्ड नेभीसमा रहेको रेनोल्डस् होल्डिङ् लिमिटेडको १०० प्रतिशत स्वामित्व लिनेछ । एनसेलको ८० प्रतिशत स्वामित्व रेनोल्डस् होल्डिङ्सँग रहेको छ । स्पेक्ट्रलाइट यूकेका लगानीकर्ता सतिशलाल आचार्य हुन् । उनी सिंगापुरमा रहेका नेपाली मुलका व्यवसायी हुन् ।

स्पेक्ट्रलाइट एनसेलका सेवाहरूको दायरा विस्तार गर्दै गुणस्तर अभिवृद्धि गर्न र डिजिटल आविष्कारहरूका साथ एनसेललाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताइएको छ । लगानीकर्ता आचार्यले एनसेल व्यवस्थापनसँगको सहकार्यमा इनोभेसन र लगानीसँगै नेपालमा रहेका करोडौ ग्राहकलाई विभिन्न परिस्कृत सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताएका छन् । उनी भन्छन् “एनसेलको सेयर होल्डिङको लागि यो सम्झौताको घोषणा गर्न पाएकोमा स्पेक्ट्रलाइट निकै खुसी छ । दूरसञ्चार क्षेत्रको मेरो वृहद् अनुभवका साथ एनसेल व्यवस्थापनसँगको सहकार्यमा इनोभेसन र लगानीसँगै नेपालमा रहेका करोडौ ग्राहकलाई विभिन्न परिस्कृत सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौँ ।” स्पेक्ट्रलाइट दुई महिनाअघि मात्रै सन् २०२३ सेप्टेम्बरमा खुलेको कम्पनी हो । कम्पनीमा शतिशलाल र डेन्टन्स् सेक्रेटरिज लिमिटेडको संयुक्त लगानी छ ।

आजिआटा सन् २०१६ मा नेपालमा भित्रिएको थियो । त्यसबेला १ अर्ब ३६ करोड अमेरिकी डलर अर्थात् त्यसबेलाको विनियमदरअनुसार १ खर्ब ४३ अर्ब रुपैयाँमा एनसेलको सेयर उसले किनेको थियो । तर, त्यसको साढे सात वर्षपछि कम्पनीले ६ अर्ब ६५ करोड रुपैयाँमा सेयर बेचेको हो ।

त्यस्तै एनसेलको सेयर किनेका आचार्य एनसेलमा २० प्रतिशत हिस्सा भएको सुनिभेरा क्यापिटल भेन्चर्सका सञ्चालक पनि हुन् । अब एनसेलमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आचार्य समूहकै शतप्रतिशत शेयर स्वामित्य कायम हुने भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार