जिम्बावेलाई पछि पार्दै युगान्डा पहिलोपटक विश्वकपमा

अफ्रिकाबाट आईसीसी टी-२० छनोटमा युगान्डाले टेस्ट राष्ट्र जिम्बावेलाई पछि पार्दै विश्वकपमा पुगेको छ। नामिबियामा भइरहेको आईसीसी टी-२० विश्वकप अफ्रिका छनोटमा युगान्डाले रवान्डालाई ९ विकेटले हराउँदै शीर्ष दुईमा स्थान बनाउँदै विश्वकपको यात्रा तय गरेको हो।

युगान्डाले ६ खेलमा ५ वटा जित्दै १० अंक जोड्यो । छनोटमा युगान्डाभन्दा अघि नै नामिबियाले एक खेल खेल्न बाँकी रहँदै शीर्ष स्थानमा रहेर विश्वकपका लागि छानिइसकेको छ ।

युगान्डाको यो जितले जिम्बावेको विश्वकपमा छनोट हुने सम्भावना सकिएको छ । युगान्डाको सिनियर टोली पहिलो पटक विश्वकपमा छानिएको हो। यू-१९ टोलीले भने ३ पटक विश्वकप खेलिसकेको छ।

वान्डरेस क्रिकेट मैदानमा रवान्डाले जितका लागि दिएको ६६ रनको लक्ष्य युगान्डाले ८ ओभर १ बलमा १ विकेटमात्र गुमाएर पूरा गर्‍यो। युगान्डाका लागि रौनक पटेलले १८‚ सिमोन सिसाजीले अविजित २६ रन र रोजर मुकासाले अविजित १३ रन बनाए।

टस हारेर ब्याटिङ गरेको रवान्डाले १८ ओभर ५ बलमा अल आउट हुँदै ६६ रनको कमजोर स्कोर बनाएको थियो। रवान्डाका लागि एरिक डुसिड्गीजिमानले १९ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

युगान्डाका लागि अल्पेश रामजानी, दिनेश नकर्नी, हेनरी सेन्योन्डो र कप्तान ब्रेन मसाबाले २/२ र रिजात अली शाहले १ विकेट लिए।

यससँगै सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने टी-२० विश्वकप खेल्ने सबै २० टोलीको टुङ्गो लागेको छ।

यी हुन् विश्वकप खेल्ने २० टोली

अमेरिका, वेस्ट इन्डिज, अष्ट्रेलिया, इङ्ल्याण्ड, भारत, नेदरल्याण्ड्स, पाकिस्तान, दक्षिण अफ्रिका, न्युजिल्याण्ड, श्रीलंका, अफगानिस्तान, बंगलादेश, आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्युगिनी, क्यानडा, नेपाल, ओमान, नामिबिया र युगान्डा।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार