कोशी प्रदेशको चालु आर्थिक वर्षको बजेट पारित 

कोशी प्रदेशको चालु आर्थिक वर्षको बजेट पारित भएको छ ।

कोशी प्रदेशको विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक बुधबार प्रदेश सभाबाट सर्वसम्मतिले पारित भएको हो ।

सभामुख आसनमा रहेका सभाध्यक्ष इस्राइल मन्सुरीले बजेट अध्यादेश प्रतिस्थापन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको घोषणा गरे । कांग्रेसबाट विद्रोह गरेर मुख्यमन्त्री बनेका केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत पाएपछि बजेट पनि पारित गराएका छन् ।

त्यसअघि कोशी प्रदेशका दुई प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रस्तुत विनियोजन विधेयकमाथि खर्च कटौतीको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरेका थिए ।

एमालेका ६ र राप्रपाका २ सांसदले खर्च कटौतीको प्रस्ताव राखेका थिए । तर, उनीहरू सबैले प्रस्ताव फिर्ता लिएपछि बजेट पारित भएको हो ।

बजेट माथिको छलफल सकिएपछि खर्च कटौतीको प्रस्ताव दर्ता गर्नका लागि आज बिहान ११ बजेसम्मका लागि समय दिइएको थियो ।

तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो । मुख्यमन्त्री केदार कार्कीले मंसिर ९ गते साविक बजेटको आकारमा ५० करोड थप गर्दै बजेट प्रतिस्थापन विधेयक ल्याएका हुन् । चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट नयाँ सरकारले पारित गराएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार