विपिनको रिहाइका लागि पहल गर्न परराष्ट्रमन्त्री साउद कतार जाने

परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन् । इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपीन जोशीको रिहाइको पहलका लागि उनी यही मङ्सीर २३ गते कतार जान लागेका उनको सचिवालयले जनाएको छ ।

साउदले बुधबार बिहान महेन्द्रनगरमा विपिनका बुवाआमालाई भेटेर आफू उनको रिहाइको थप पहल गर्न कतार जान लागेको बताएका छन् ।

यसअघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए ।

त्यसअघि मङ्सिर ७ गते (बिहीबार) उनले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए ।

कतार बसाइका क्रममा उनी दोहा २१औँ फोरममा पनि सहभागी हुने उनको सचिवालयले जनाएको छ । डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार