स्वर्णिम वाग्लेसहित रास्वपामा १४ केन्द्रीय सदस्य मनोनीत

तीन दिनदेखि महोत्तरीको जलेश्वरमा बसिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यमा १४ जनालाई मनोनीत गरेको छ । थपिएका सबै सांसद रहेको रास्वपाका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।

यसअघि रास्वपाको ४० सदस्यीय केन्द्रीय समिति थियो । जसमा ढाकाकुमार श्रेष्ठ निलम्बनमा परेका र मोहनबहादुर थापाले राजीनामा दिएका थिए।

केन्द्रीय सदस्यमा मनोनीत भएकामा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, डा. स्वर्णिम वाग्ले, सचेतक निशा डाँगी, सांसद मनिष झा, डा. तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, डा. चन्दा कार्की (भण्डारी), असीम शाह, लक्ष्मी तिवारी, अशोककुमार चौधरी, शिव नेपाली र विनिता कठायत छन् ।

पदाधिकारीको विषयमा भने निर्णय नभइसकेको प्रवक्ता ढकालले बताए । डा. वाग्लेलाई रास्वपाको उपसभापति बनाउने तयारी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार