सुत्केरीको मृत्यु भएपछि बुटवलको सिद्धार्थ अस्पतालका मेसुमाथि कुटपिट, घाइते डाक्टरको आईसीयूमा उपचार

बुटवलको दिपनगरमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि कुटपिट भएको छ ।

गुल्मी सत्यवती गाउँपालिका ठूलो लुम्पेमककी अन्दाजी ३५ वर्षीया भवानी राष्कोटी मगरको प्रसूतिपछि मृत्यु भएपछि आफन्तले डाक्टर बस्यालमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते भएका बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेको छ । बस्याल खतरामुक्त छन् ।

अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएपछि उत्पन्न तनाव समाधान गर्न वार्ता भइरहेको अवस्थामा बस्यालमाथी कुटपिट भएको हो । नवजात शिशु भने सकुशल भएको अस्पताल व्यवस्थापनले जनाएको छ ।

सोमबार शल्यक्रियामार्फत पाँच किलोग्रामको बच्चा जन्माएकी भवानीलाई मंगलबार हृदयघात भएर मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख खगेन्द्र क्षेत्रीको दाबी छ । उनका अनुसार मृतकका आफन्तले मृत्युको विषयमा छानबिन गर्ने भन्दा पनि सुरु देखि नै ५० लाख रुपैयाँ क्षतिपूर्ति रकम मागेपछि स्थिति असहज बन्दै गएको थियो ।

छलफलकै क्रममा बिरामीका आफन्तले चिकित्सकहरू माथि कार्यालयकै कुर्ची टेबलका खुट्टा भाँचेर टाउको र छातीमा प्रहार गरेको क्षेत्रीले बताए । मेसु बस्यालमाथि कुटपिटमा संलग्न भएको आरोपमा ७ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार