तनहुँ बस दुर्घटना अपडेट: उपचारका क्रममा दुई घाइतेको मृत्यु

तनहुँको ब्यास नगरपालिका-२ घाँसीकुवामा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बस दुर्घटनामा घाइते ३६ जनामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाणका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका धनकुटाको सागुरीगढी गाउँपालिका-९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलको अन्दाजी ५०/५५ वर्षका टोप बहादुर मगरको उपचारका क्रममा मृत्यु भएको हो ।

राईको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पताल र मगरको दमौली अस्पताल तनहुँमा उपचारका क्रममा मृत्यु भएको डिएसपी खाणले जानकारी दिए ।

आज बिहान पौने ६ बजे धरानबाट पोखरातर्फ पोखरा जाँदै गरेको ग१ख ७८९५ नम्बरको यात्रुवाहक बस पृथ्वी राजमार्ग सडकखण्डको घाँसीकुवमा सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।

घाइतेहरूको पोखरास्थित मणिपाल शिक्षण अस्पताल र तनहुँको रत्नहरी मेमोरियल अस्पताल उपचार भइरहेको डिएसपी खाणले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धान अनुसार बस अनियन्त्रित भएर दुर्घटना भएको हो । यसबारेमा थप अनुसन्धान भइरहेको डिएसपी खाणले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार