टर्कीले इजरायलबाट आफ्नो राजदूतलाई फिर्ता बोलायो

टर्कीले गाजामा भएको रक्तपातको विरोधमा इजरायलबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ । साथै, टर्कीले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहूसँग सम्पर्क समेत तोडेको छ ।

अंकाराले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनको टर्की भ्रमण कठिन हुने वाचाको पूर्वसन्ध्यामा त्यस्तो निर्णय गरेको हो । प्यालेस्टाइनी सहयोगी टर्कीले गएको महिना इजरायल–हमास युद्ध सुरु हुँदासम्म इजरायलसँगको बिग्रिएको सम्बन्धलाई सुधार गर्दै आएको थियो ।

तर, लडाइँ लम्बिँदै गएपछि प्यालेस्टाइनी सर्वसाधारणको मृत्युको संख्या बढ्दै गएसँगै इजरायल र उसका पश्चिमी समर्थक विशेष गरी अमेरिका दुवैविरुद्ध टर्कीको स्वर कडा भएको छ ।

“गाजामा सर्वसाधारणविरुद्ध इजरायलले गरेको लगातारको हमला र उसले युद्धविराम गर्न अस्वीकार गरेका कारण भएको मानवीय त्रासदीलाई ध्यानमा राख्दै राजदूत साकिर ओजकान टोरुलनरलाई परामर्शका निम्ति फिर्ता बोलाइएको छ,” टर्कीको विदेश मन्त्रालयले भनेको छ ।

टर्कीका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले पत्रकारसँगको छुट्टै कुराकानीमा आफूले गाजापट्टीमा सर्वसाधारणको मृत्युका निम्ति नेतान्याहूलाई व्यक्तिगत रूपमा जिम्मेवार ठहर गरेको बताए । “नेतान्याहू अब हामीसँग कुरा गर्न सक्ने व्यक्ति रहनु भएन, हामीले उहाँलाई खारेज गरेका छौँ,” उनले भने ।

इजरायलले सुरक्षा सतर्कताका रूपमा यसअघि नै टर्की र अरू क्षेत्रीय मुलुकहरूबाट सबै राजदूतहरूलाई फिर्ता बोलाएको थियो । इजरायली विदेश मन्त्रालयले गएको साताको अन्त्यमा इजरायल–हमास युद्धका बारेमा टर्कीको बढ्दो तिखो वक्तव्यका कारण अंकारासँगको सम्बन्धलाई ‘पुनर्मूल्यांकन’ गरिरहेको जनाएको थियो ।

एर्दोगानले शनिबार दुवै पक्षबीच कूटनीतिक सम्पर्कलाई सम्पूर्ण रूपमा तोड्ने जोखिम टर्कीले उठाउन नसक्ने बताए । “कूटनीतिक सम्बन्धलाई सम्पूर्ण रूपमा तोड्न सम्भव छैन, विशेष गरेर अन्तर्राष्ट्रिय कूटनीतिमा,” उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार