राहत तथा उद्धार कार्यमा खटिएका जहाज र हेलिकप्टरको इन्धन खर्च निगमले बेहोर्ने

नेपाल आयल निगम लिमिटेडले भूकम्प प्रभावितको उद्धारमा परिचालन भएका हवाई जहाज र हेलिकप्टरकोमा प्रयोग हुने इन्धन खर्च बेहोर्ने घोषणा गरेको छ ।

निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाईजहाज तथा हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन बापतको रकम आर्थिक वर्ष २०८०-८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट बेहोर्ने निर्णय भएको जानकारी दिएको छ ।

शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ। जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जना गरी अहिलेसम्म १५७ जनाको मृत्यु भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। 

सबैभन्दा धेरै भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटमा १ सय ५ जनाको मृत्यु भएको छ । जसमा ७२ जना महिला र ३३ जना पुरुष रहेका छन् । त्यस्तै, रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । जसमध्ये २७ जना महिला र २५ जना पुरुष रहेका छन् ।त्यस्तै जाजरकोटमा ८१ र रुकुम पश्चिममा ७९ जना घाइते भएका छन्। 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार