भूकम्पमा परी जाजरकोट र रुकुममा गरि हालसम्म १३१ जनाको मृत्यु

जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरी १ सय ३१ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ८७ जनाको मृत्यु भएको पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोस रोकाका अनुसार पछिल्लो विवरण अनुसार भूकम्पमा परी जाजरकोटमा मात्र ८७ जनाको मृत्यु भएको पुष्टि भएको छ । थप विवरण संकलन हुँदैछ ।

त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ४४ जनाको मृत्यु भएको छ । जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको मृत्यु भएको हो ।

जाजरकोटको बारेकोट केन्द्रविन्द्र भएर राति पौने १२ बजे गएको भूकम्पले नलगाड नगरपालिका, रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा बढी क्षति भएको छ । भूकम्पमा परी जाजरकोट नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार