सडक अवरुद्ध हुँदा भूकम्प प्रभावितको उद्धारमा कठिनाइ

जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको छ । केही ठाउँमा सुख्खा पहिरो गएको र केही ठाउँमा पुल भासिंएकोले घाइतेको उद्धारमा कठिनाइ भएको हो ।

जाजरकोट डोल्पा सडकअन्तर्गत रिम्नाको पुल भासिंएको छ । पुल भासिएर सडक अवरुद्ध हुँदा नलगाड र आठविसकोटका बिरामी ल्याउन समस्या भएको छ ।

रुकुमपश्चिममा पनि केही ठाउँमा सुख्दा पहिरो जाँदा सडक अवरुद्ध भएको स्थानीय तहले जनाएका छन् । सडक खोलेर उद्धारको काम भइरहेको छ ।

शनिबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पबाट मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति भएको छ।

भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर अहिलेसम्म ८० जनाको ज्यान गएको प्रहरीले बताएको छ भने करिब १ सय ४० जना घाइते भएका छन् ।

जाजरकोटमा मात्रै अहिलेसम्म ४४ जनाको ज्यान गएको पुष्टि भएको छ । ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका ३०, नलगाड नगरपालिकाका ६, कुशे गउँपालिकाका ७ र छेडागाड नगरपालिकाका १ जना रहेका छन्  ।

त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ । जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको ज्यान गएको भट्टराईले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार