भूकम्प अपडेट : ७३ जनाको मृत्यु भएको पुष्टि

जाजरकोट आसपासलाई केन्द्र बनाएर शुक्रबार मध्यराती गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म जाजरकोटमा र रुकुम पश्चिममा ७३ जनाको मृत्यु भएको छ ।

जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिसचन्द्र शर्माका अनुसार जाजरकोटमा मात्र ३७ जनाको मृत्यु भएको पुष्टि भएको छ । थप ४३ जनाको मृत्यु भएको र विवरण आएको ठाउँमा प्रहरी परिचालन गरी पुष्टि हुने क्रम जारी छ ।

भूकम्पमा परी जाजरकोट नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ । जाजरकोटमा उपमेयर सिंहसहित ३७ स्थानीयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाले जानकारी दिए ।

यता रुकुम पश्चिमका डिएसपी नवराज भट्टराईका अनुसार जिल्लामा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । उनका अनुसार सानीभेरी र जिल्ला अस्पतालमा गरेर १०० जना बढीको उपचार भइराखेको छ । भूकम्पपछिको सुख्खा पहिरोले घाइतेको उद्धारमा कठिनाइ रहेको डिएसपी भट्टराईको भनाइ छ ।

जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भुकम्प गएको हो । भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मीको टोलीसहित जाजरकोट जान लागेका छन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बिहानैदेखि घाइतेको खोज र उपचारका लागि सुर्खेतबाट तीन वटा हेलिकप्टर परिचालन भएका छन् ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ठूलो भूकम्पपछि लगातार परकम्प गएका छन् । मध्यरातमा ठुलो भूकम्प गएकाले ठूलो क्षति भएको अनुमान गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार