सुनसरीमा तीन हजार हेक्टर क्षेत्रफलमा आलु खेती

इनरुवा- सुनसरीका कृषक आलु खेती लगाउनतर्फ व्यस्त भएका छन् । जिल्ला सदरमुकाम इनरुवासहित भोक्राहा नरसिंह, कोशी, हरिनगर, देवानगञ्ज, गढी, बराहक्षेत्र, दुहबी धरानलगायत स्थानमा बसोबास गर्ने किसान दसैँ सकिएसँगै आलु खेती गर्नेतर्फ व्यस्त भएका हुन् ।

इनरुवाका किसान गौरी यादवले दसैँअगाडि धान बाली भित्र्याएरपछि अहिले आलु रोप्नका लागि चटारो रहेको बताए । हरिनगरका चन्दन मेहताले भने “आलु रोप्न भ्याइनभ्याइ छ ।” यहाँका कृषकले हिउँदे बालीका रुपमा मुख्यतः आलुखेती नै गर्ने गरेको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए ।

आलुको माग बजारमा उच्च भएपछि किसान थप व्यावसायिक रूपमा आलु खेतीमा लाग्ने गरेको स्थानीय कृषकले बताएका छन् । जिल्लामा एउटा किसानले एक कट्ठादेखि पाँच बिघा क्षेत्रफलसम्म आलु खेती गर्ने गरेको छ । विगतमा परम्परागत पुरानो आलुको बीउ लगाउँदै आएको किसान अहिले नयाँ जातको बीउ लगाउन थालेका छन् ।

यहाँका किसानले मुख्यतः काडिनल, जनक, कुफरी जपि, भुटानी, सठिया, टिपिएस लगायतका जातका आलु लगाउने गरेको ज्ञान केन्द्र सुनसरीका प्रमुख सिंहले जानकारी दिए । यहाँको आलु सदरमुकाम इनरुवा हुँदै अन्य मुख्य तरकारी बजारमा बिक्री हुने गरेकाले बजारको अभाव नरहेको कृषकको भनाइ छ । यहाँ वार्षिक रुपमा तीन हजार हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख सिंहले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार