नक्कली श्रम स्वीकृति लगायतका कागजात बनाउने दुई जना पक्राउ

काठमाडौँ– नक्कली श्रम स्वीकृति लगायतका कागजात बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउपालिका वडा नं. ४ घर भई हाल काठमाडौँको बनस्थली बस्ने २३ वर्षीय अजित फेवाली र काठमाडौँ नागार्जुन नगरपालिका वडा नं. १ रानीवन बस्ने २१ वर्षीय विपिन ढकाल रहेका छन् । उनीहरूलाई बुधबार पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार भिजिट भिसामा विदेश जान लागेका व्यक्ति शङ्कास्पद रहेको भनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पठाइएका कागजातमध्ये सुजल हेङगजुको नाममा रहेको श्रम स्वीकृति नक्कली देखिएको थियो ।

उक्त कागजात बनाउने फेवाली र ढकाल रहेको अनुसन्धानबाट खुल्न आएकाले निजहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई कामपा–१३ मा घर भाडामा लिई वैदेशक रोजगारसम्बन्धी काम गर्ने ट्राभल्सबाट पक्राउ गरिएको थियो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कालीमाटी, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार