इजरायलमा मारिएका सबै नेपाली विद्यार्थीको शव पहिचान, विपिनको खोजी जारी

 इजरायलमा ज्यान गुमाएका दुई विद्यार्थीको शव पहिचान भएको छ । इजरायलस्थित नेपाली दूतावासले सोमबार सुनसरीका राजेशकुमार स्वर्णकार र धनुषाका आनन्द साहको शव पहिचान भएको जानकारी दिएको छ ।

दक्षिणी इजरायलको किबुज–अलुमिममा हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए । बाँकी दुईजनासमेत गरी १० जनाकै शव पहिचान भएको छ । 

राजदूतावासले पहिचान भएका शवहरू छिट्टै पठाउने व्यवस्था मिलाउने पनि जनाएको छ । यसअघि पहिचान भएका डोटीका राजन फुलरा र पदम थापा तथा सल्यानका प्रवेश भण्डारीको शव आउन बाँकी रहेको छ ।

यसअघि राजदूतावासले बझाङमा गणेशकुमार नेपाली, दार्चुलाका दिपेशराज विष्ट र लोकेन्द्रसिंह धामी, कैलालीका आशिष चौधरी र नारायणप्रसाद न्यौपानेको शव पठाइसकेको छ ।

अक्टोबर ७ मा हमासको आक्रमणमा परी ‘लर्न एन्ड अर्न’ कार्यक्रममा गएका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । त्यस्तै सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी जारी रहेको पनि राजदूतावासले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार