टि २० विश्वकप छनोट : नेपालको सानदार विजयी सुरुवात

नेपालले आईसीसी टी२० विश्वकप एसिया क्षेत्र छनोटमा सानदार विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले पाहुना टोली सिंगापुरलाई ८ विकेटले पराजित गरेको हो । सिंगापुरले दिएको १४६ रनको मध्यम लक्ष्य नेपालले १६.३ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले उत्कृष्ट अर्धशतक पारी खेले । उनले ४८ बलमा ८ चौका र २ छक्काको मद्धतमा सर्वाधिक ७४ रनको योगदान गरे । उनलाई सुरुवातमा राम्रो साथ दिएका अर्का ओपनर आसिफ शेख २ चौका र १ छक्का प्रहार गरेर २७ रन जोड्दै आउट भए । साथै, कप्तान रोहित पौडेलले ३५ रन बनाउँदा भने कुशल मल्लले ६ रन जाेडे। सिंगापुरका लागि अनन्त कृष्ण र अक्षय पुरीले एक-एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको सिंगापुरले २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । सिंगापुरका लागि ओपनर ब्याट्सम्यान रोहन रंगराजनले ४५ रन बनाए । मनप्रित सिंहले २४ रनको योगदान गर्दा आर्यवीर चौधरीले ३७ रन जोडे। अक्षय पुरी ८ बलमा १ चौका र १ छक्कासहित १३ रनमा नट आउट रहे । नेपालका लागि अभिनाश बोहराले ४ ओभरमा १ मेडनसहित ४४ रन खर्चेर ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान दुई/दुई विकेट हात पारे ।

आजदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले कात्तिक १४ गते मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार